सोमबार , चैत्र ३०, २०८२
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले सरकारले लागू गरेको शनिबार र आइतबार बिदा बारे यस्तो भन्छन् – Nepali Online Tv
Trend

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले सरकारले लागू गरेको नयाँ कार्यालय समयबारे सकारात्मक प्रतिक्रिया दिएका छन्।

उनले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्ने र शनिबार–आइतबार बिदा दिने निर्णयलाई उचित र वैज्ञानिक भन्दै समर्थन गरेका हुन्।

सामाजिक सञ्जाल Facebook मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो व्यवस्था कर्मचारीको कार्यक्षमता र समय व्यवस्थापनका दृष्टिले पनि उपयुक्त हुने उल्लेख गरेका छन्।

कार्यालय समय ९-५ बजे र शनिवार-आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ। यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थाइ रूपमा लागू गर्ने मात्र हैन सार्वजनिक बार्षिक विदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ।

मेरो पालामा मन्त्रीपरिषद्ले यसवारे निर्णय गरेर पनि विविध कारणले लागू नगरिएको र पछिल्ला सरकारहरूले रद्दीको टोकरीमा फालेको यो विषयलाई अझै आवश्यक परिमार्जन गरेर वर्तामान सरकारले लागू गरोस्:-

• दैनिक कार्य समय बढाएर हप्ताको दुइ दिन बिदा दिंदा कुल कार्यसमय कम हैन झन् बढी हुन्छ; कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ; पारिवारिक सुखशान्ति बढ्छ;इन्धनको बचत हुन्छ; स्वच्छ पर्यावरण निर्माणमा मदत पुग्छ; आन्तरिक पर्यटन बृद्धि हुन्छ। आइतवारको विदाले अन्तर्राष्ट्रिय कार्यसमयसंग व्यवसायिक तालमेल गर्न सजिलो हुन्छ। सबै हिसाबले देश र समाजलाई फायदा हुन्छ।

• यो संगसंगै राष्ट्रिय औपचारिक पात्रोमा पनि सुधार गर्दा राम्रो हुन्छ। देशको इतिहास र संस्कृतिको संबर्द्धननिम्ति नेपालसम्बत् र बिक्रमसम्बत् कायम गर्ने र साथमा औपचारिक अन्तर्राष्ट्रिय कारोवार र व्यवसायिक प्रयोजनकोनिम्ति ग्रेगोरियन क्यालेण्डर (इस्वीसम्बत्) प्रयोग गर्दा समयको प्रवाह अनुरूप पदचाप मिलाउन सहज हुन्छ।

• साथै हाम्रा सार्वजनिक विदाहरू धेरै र अनिश्चित हुँदा वर्तमान युग र आर्थिक प्रणालीको सापेक्षतामा हाम्रो समग्र सामाजिक-आर्थिक उत्पादन र उत्पादकत्वमा निकै नोक्सान हुन पुगेको छ। अतः संघमा केही महत्वपूर्ण ऐतिहासिक दिन र साझा राष्ट्रिय प्रकृतिका पर्वहरूमा मात्र सार्वजनिक विदा दिने; अरू निश्चित दिन स्वेच्छिक विदा लिन सक्ने ; र अन्य केहीमा प्रदेश र स्थानीय तहले निर्णय गर्न सकिने व्यवस्था हुनु राम्रो हुन्छ।

[• र अन्त्यमा, एउटा साँचो तर ठट्यौली जस्तो कुरा! मेरो पालामा मन्त्रीपरिषद्ले विभिन्न समुदायका मन्त्रीहरूको प्रतिनिधित्व सहित सार्वजनिक विदाको कुल संख्या कटौती गर्ने गरी प्रस्ताव ल्याउन एउटा कमिटी गठन गर्यो। तर कसैले पनि आफ्नो समुदायका पर्वहरूको विदा कटाउन नमानेको र एकजना मारवाडी समुदायका मन्त्रीले आफ्नो समुदायको पर्वमा पनि विदा हुनुपर्छ भनेपछि एक दिन विदा अरू थपेर पो प्रस्ताव आएछ! हामीले केही हाँसो र केही दिग्दारी सहित ‘पुनः मुषिको भवः’ भन्दै मन्त्रीपरिषद्बाट प्रस्तावै हटाएका थियौं!अब त्यस्तो कहिल्यै नहोस्!]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP